कुवेतमा नव-नियुक्त राजदुतको स्वागत तथा प्रथम सचिवको बिदाई

Published On: Sunday, December 28, 2014 | Source: NRNA KUWAIT

२८ डिसेम्बर २०१४ । कुवेतको नेपाली समुदायले हिजो २७ डिसेम्बर २०१४ मा कुवेतका लागि नव-नियुक्त राजदुत महामहिम यज्ञ बहादुर हमालको भव्य स्वागत र प्रथम सचिव बिशाल भट्टराईको बिदाई गरेका छन ।

कुवेतको मुर्गाफस्थित होटल गल्फ रोसमा एनआरएनए एनसिसी कुवेतले सम्पूर्ण कुवेतमा कृयाशिल ४ दर्जन भन्दा बढी नेपाली सँघ-संस्थाहरुको सहभागितामा आयोजना गरेको नव-नियुक्त राजदुत र नव-नियुक्त श्रम-सहचारीको स्वागत तथा करिब १ बर्षसम्म कार्यवाहक राजदुतको भूमिका निर्वाह गरेका प्रथम सचिव विशाल भट्टराईको विदाई कार्यक्रम एकैचोटी सम्पन्न गरेको हो ।

कुटनैतीक क्षेत्रमा पोख्त राजदुत हमालले स्वागत समारोहलाई सम्बोधन गर्दै मानिस आशावादी भएर बाँच्नुपर्छ कुनै न कुनै हल निस्कन्छ तर निराशा हुनु हुँदैन भन्दै आफ्नो कुवेत यात्राामा विमानस्थलमा गरिएको स्वागतदेखी आजको दिन जीवान्त अविस्मरणिय क्षणको रुपमा रहने बताउनु भयो । नेपाल र कुवेतको कुटनैतीक सम्बन्धमा सुधार ल्याएर कसरी लाभ उठाउन सकिन्छ त्यो आफुले अध्ययन गरिरहेको बताउँदै खासगरी व्यापर र पर्यटनमा सम्भावना रहेको आफुले देखेको बताउनु भयो ।

यसैगरी, राजदुतले कुवेतमा रहेका श्रमिक नेपालीहरुलाई प्रबासको बसाईको क्रममा समस्याहरु आउन सक्छन तर जस्तोसुकै समस्यालाई पनि हामी सबै बसेर हल निकालौं, समाधान हुन्छ भन्दै जसको लागि सम्पूर्ण कुवेतवासी नेपालीहरुको आफुलाई सहयोगको खाँचो रहेको बताउनु भएको छ । भैपरि आएको खण्डमा मलाई कुनैपनि बेला कसैलेपनि सिधै फोन गर्न सक्नुहुनेछ र दुतावासको ढोका हमेशा यहाँहरुको लागि खुल्ला रहनेछ, वहाँले थप्नुभयो । साथै, कुवेतमा नेपालीहरुको के-कस्ता समस्या छन र कसरी समाधान गर्न सकिन्छ भन्ने बारेमा छलफल गर्न कुवेतवासी नेपालीसँग छिट्टै अन्तर्कृया कार्यक्रम राखिने पनि वहाँले बचन दिनु भएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रथम सचिव विशाल भट्टराईले पुर्व राजदुत मधुवन पौडेलको विदाई पश्चात आफुले सम्हाल्दै आएको दुतावासको काम कार्वाहीमा दुतावासका सम्पूर्ण कर्मचारी लगायत नेपाली समुदायबाट पनि राम्रो सहयोग मिलेको र आफुलाई जस्तै नव-नियुक्त राजदुतलाई पनि सबैले सहयोग गर्ने आशा लिएको बताउँदै आजको दिनमा पाएको सम्मानको लागि सबैलाई धन्यवाद दिन चाहन्छु भन्नुभयो ।

स्वागत तथा बिदाई समारोहमा नेपाली दुतावासका दितिय सचिव अम्बिका जोशी, श्रम-सहचारी गोमा देवी ढकाल, एनसीसी कुवेतका संरक्षक तथा आदिबासी जनजाती महासँघ कुवेतका अध्यक्ष राजेन्द्र तामाङ, नेपालकुवेत डटकम तथा मरुभुमिको कोसेलीका प्रधान सम्पादक तोयानाथ दाहाल, माउण्ट एभरेष्ट स्पोर्टिङ क्लवका अध्यक्ष तथा कुवेतनेपाल डट कमका प्रधान सम्पादक जय आले लगायतले आफ्नो बिचार राखेका थिए ।

एनसिसी कुवेतका अध्यक्ष धर्मराज गिरीको सभापतित्व र महामहिम राजदुतको प्रमुख आतिथ्यता रहेको कार्यक्रमलाई सचिव टिकाराम आचार्यले सञ्चालन गरेका थिए भने सल्लाहाकार ईन्द्र पोखरेलले सम्पूर्ण उपस्थित महानुभावहरुलाई मन्तव्य दिंदै स्वागत गर्नुभएको थियो ।

यसैगरी, एनआरएनए कुवेतका आईसिसी कोर्डिनेटर सुजन केसीले नव-नियुक्त राजदुतको परिचय, जीबनी तथा वहाँका कुटनैतीक यात्राको बारेमा प्रकाश पारेका थिए । कार्यक्रम बेलुकिको ७.०० बजेबाट ११.०० बजेसम्म चलेको थियो ।

युएई एक्सचेन्ज कम्पनी कुवेतले स्पोन्सर गरेको कार्यक्रममा कम्पनिका जनरल म्यानेजर बिबेक नायर, बिजनेस म्यानेजर रेन्जिथ पिल्लाई र बजार व्यवस्थापक राम बस्नेत लगायतले समेत कम्पनिको सेवा र परिचय दिंदै राजदुतलाई स्वागत गरेका थिए ।